काठमाडौं। चैत १५ गते राजावादी समुहको प्रदर्शनको क्रममा तीनकुनेको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शवको एक्सरे गरिएको छ।
चिकित्सकहरुले एक्सरे नगरी पोस्टमार्टम नगर्ने अडान लिएपछि स्वर्गीय रजकको मंगलबार राती एक्सरे गरिएको हो। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
`तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको शवको पोर्टेबल एक्सरे भयो, पोस्टमार्टम बाँकी छ, एक्सरेको रिपोर्ट आएपछि भोलि पोस्टमार्टम हुन्छ।´ एक चिकित्सकले भने।
ती चिकित्सकका अनुसार एक्सरेमा उनलाई गोली लागेको देखिएको छैन। तर बुधबार मात्र रिपोर्ट आउने हुँदा सबैकुरा जानकारी गराइने उनले बताए।
सामाजिक संजालमा रजकको शरीरमा गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरु पोर्टेबल एक्सरे गरेपछि मात्र पोस्टमार्टम गर्ने अडानमा थिए। त्रिवि शिक्षण अस्पतालमा शवको पोर्टेबल एक्सरे गर्ने मेसिन नहुँदा एक्सरे गर्न ढिला भएको थियो।



