काठमाडौं। म्यानमारमा आएको भुकम्पबाट प्रभावितहरुको उद्दार तथा उपचारका लागि नेपाली सेनाको टोली म्यानमार जाने तयारीमा छ।
सोमबारको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो।
सरकारको सो निर्णयपछि सेना आवश्यक तयारीमा जुटेको छ भने परराष्ट्र मन्त्रालयले रुट क्लियरेन्स र भिषाको प्रक्रिया अघि बढाएको छ।
सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सरकारको निर्णयपछि सेना म्यानमार जानका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा बसेको जानकारी दिए।
`सरकारको निर्णयपछि आवश्यक औषधि र चिकित्सकहरुको टोली म्यानमार पठाउँदै छौं, त्यसका लागि रुट क्लियरेन्स र भिषाको प्रक्रियाको काम परराष्ट्र मन्त्रालयमार्फत भैरहेको छ, सबै प्रक्रिया पुरा गरेर छिटै नेपाली सेनाको टोली जानेछ।´ सैनिक प्रवक्ता केसीले एक्सरे नेपालसँग भने।
उनका अनुसार म्यानमारमा भुकम्पमा परेर घाइते भएकाहरुको उपचारका लागि १५ देखि १७ जनाको मेडिकल टोली जाने तयारीमा छ। सो टोली चिकित्सक तथा सर्जनसहितको हुनेछ भने आवश्यक उपकरणसहित टोली जाने छ। प्रवक्ता केसीका अनुसार नेपाली सैनिक आफ्नै विमानमार्फत म्यानमार जाने छन।
तर त्यहाँ जाँदा लाग्ने खर्च भने सरकारले ब्यहोर्ने छ। सरकारमा प्रवक्ता संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो बारे मन्त्रीपरिषद बैठकको निर्णय सुनाउँदै जानकारी गराएका थिए।
गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। भूकम्पमा परेर झण्डै २२ सय भन्दा बढि ब्यक्तिहरुको ज्यान गएको छ भने हजारौं ब्यक्ति घाइते छन। घाइतेहरुको उपचार भैरहेको तथा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।



