काठमाडौं। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा पीजी अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु आन्दोलनको तयारीमा जुटेका छन्।
पुर्वनिर्धारित सिट संख्या घटाइएको भन्दै स्नातकोत्तर (पीजी) अध्ययन गर्ने विद्यार्थीहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्णयमा पुनर्विचार गर्न चिकित्सा शिक्षा आयोगलाई चेतावनी दिएका हुन। आयोग पुर्ववत निर्णयमा नफर्किए आन्दोलनमा जाने विद्यार्थीहरुको चेतावनी छ।
`हामीले नयाँ निर्णय गर भनेका होइनौं, पहिले जे निर्णय भएको हो त्यही कायम गर भनेका हौं, पुर्ववत निर्णयमा फर्किन हामी चिकित्सा शिक्षा आयोगसँग आग्रह गर्दछौं। परीक्षार्थी डा. अभिषेककुमार अमरले भने।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरुपण गर्नका लागि १८ औं बैठक तत्काल बोलाउन माग गरे।
`हतार हतार निर्णय गर्ने र विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने काम नहोस, चिकित्सा शिक्षा आयोगले जसरी प्रक्रिया अघि बढाउन खोजेको छ यो रोकियोस, १८ औं बैठक डाकेर तत्काल थप छलफल गरेर यो विषयको निरुपण गरियोस।´ डा अमरले भने।

अर्की एक विद्यार्थीले आफुहरु जसरी पनि पिजी अध्ययन गर्न तयार रहेको भन्दै विद्यार्थीमाथि राजनीति नगर्न आग्रह गरिन। उनले पहिले भैसकेको निर्णय कार्यान्वयन गर्नुको साटो विद्यार्थीको मनोबल कमजोर बनाउने काम भैरहेको प्रति आयोगसँग असन्तुष्टि पोख्दै भनिन्।
`हामीलाई ४८ हजार भत्ताको कुनै मतलब छैन, विद्यार्थीहरु जसरी पनि पढ्न चाहन्छन, तर अनेक बाहनामा खेलवाड गर्ने काम भैरहेको छ, राजनीति गर्ने काम भैरहेको छ, पहिले गरेकै निर्णय कार्यान्वयन गर्दा विद्यार्थीको हितमा हुन्छ, विद्यार्थीलाई अलमलमा राख्ने र मनोबल गिराउने काम किन हुन्छ´ नाम नबताउने भन्दै ती विद्यार्थीले प्रश्न गर्दै भनिन्।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगलाई हाल अघि बढाइएको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरुपण गर्नका लागि १८ औँ बैठक तत्काल बोलाउन माग गरेका छन्।
निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६ सय ७० मा झारेको छ। आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको हो।
यसअघि आयोगले १७ औं बैठकले थप गरेको २ सय ३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै १४ सय ९६ सिट तोकिएको बताएको थियो। बढेको सिट पछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले मारमा पर्ने बताउँछन।
गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडीएमएस एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो। त्यसपछि विद्यार्थीहरु झस्किएका हुन।उनीहरू आफ्ना माग सम्बोधन नभए अदालतसम्म जाने तयारीमा छन। आयोगले निर्धारण गरेको म्याचिङ प्रक्रिया अघि बढाए ८ सय भन्दा बढी विद्यार्थी पढाईबाट बन्चित हुने उनीहरुको भनाइ छ।
अर्का परीक्षार्थी डा अनिलकुमार साहले पीजी पढ्ने आशामा रहेका र प्रवेश परीक्षा उत्तीर्ण डाक्टरहरुलाई आयोगको कदमले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने अधिकारबाट विद्यार्थीहरुलाई बन्चित गर्न खोजिएको बताए।
उनले चिकित्सा शिक्षासंग सम्वद्ध व्यक्ति समूह तथा संस्थाहरुले आयोगको सो कदमको विरोध गर्नुपर्ने बताए।नेपाल चिकित्सक संघलेसमेत सोमबार नै विज्ञप्ति जारी गर्दै संख्या घटाउने म्याचिङ प्रक्रिया रोक्न र पुर्वनिर्धारित संख्याकै आधारमा प्रक्रिया पुन: अघि बढाउन चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ।



