काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई पूर्वराजा शाहको सुरक्षा समूहले फर्काइदिएको छ।
आइतबार बिहान महानगरपालिकाको टोली गत शुक्रबार तीनकुनेमा आन्दोलनका क्रममा राजावादी समुहबाट आयोजित कार्यक्रममा भएको क्षतिको क्षतिपूर्ति भराउने पत्र बोकेर निर्मल निवास पुगेको थियो।
तर महानगरको टोलीलाई उनको सुरक्षा समुह र सचिवालयका ब्यक्तिहरुले पूर्वराजाको निवासको गेटबाट नै फिर्ता पठाइदिएको हो। पत्रकाठमाडौं महानगरले शनिबार पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोक्दै पत्र काटेको थियो।
शुक्रबार भएको राजावादी समुहको प्रदर्शनका क्रममा काठमाडौं महानगरका विभिन्न क्षेत्रमा क्षति पुगेको भन्दै पुर्वराजा शाहलाई महानगरले शनिबार आठ वटा पत्र काटेको थियो। शाहका नाममा काटिएका पत्रमा जरिवानाको विभिन्न शीर्षक राखिएको छ।
महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना तोकिएको थियो। महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गरिएको बताएको छ। जसमा एक पत्रमा १ लाख ३० हजार, ६ वटा पत्रमा १ लाख तथा एक पत्रमा ६३ हजार जरिवाना तोकिएको छ।
काठमाडौ महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले अब महानगरपालिकाले प्रक्रियामार्फत पत्र पठाउने बताए।
`अब महानगरपालिकाको पत्र प्रक्रियागत तरिकाबाट जान्छ।´ पाण्डेले एक्सरे नेपालसँग भने।



