काठमाडौं। राजावादी समुहको भनिएको प्रदर्शन हिंसात्मक भएपछि स्थानीय प्रसासनले काठमाडौंका केही स्थानमा निषेधाज्ञा (कर्फ्यु) लगाएको छ।
अहिले नेपाली सेना पनि काठमाडौंको सडकमा निस्किएको छ। सेना बख्तरबन्द गाडीसहित सडकमा निस्किएको हो। निषेधाज्ञा जारी भएपछि सेना सडकमा आएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचनामा जनाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा आवतजावत गर्न पाइने छैन।




