काठमाडौं। नेपाल विद्युत प्राधिकरणका केही दिन अघिका कार्यकारी निर्देशक कुलमान घिसिङ र घिसिङलाई हटाएर सरकारले कार्यकारी निर्देशक बनाएका हितेन्द्रदेव शाक्यको मुद्दाको सुनुवाइ सरेको छ।
आज शुक्रबार दुबै मुद्दाको पेसी तय भएको थियो। सर्वोच्चको मुद्दाको सुनुवाइको सुचीमा घिसिङ र शाक्यको मुद्दा अब्दुल अजीज मुसलमानको एकल इजलासमा थियो। घिसिङको मुद्दा दुई नम्बर पेसीमा चढेको थियो भने शाक्यको मुद्दा पाचौं नम्बर पेसीमा थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा दुबै मुद्दा एउटै प्रकृतिको भएको भन्दै न्यायाधीश मुसलमानले एकैपटक सुनुवाइ गर्ने इजलासलाई जानकारी गराएपछि इजलासले सुनुवाइ आइतबारका लागि सारेको हो।
घिसिङलाई गएको सोमबार सरकारले मन्त्रिपरिषदबाट निर्णय गर्दै कार्यकारी निर्देशक पदबाट हटाएको थियो। सो निर्णय गैरकानुनी भएको भन्द घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
वरिष्ठ अधिवक्ता डा दिनमणि पोखरेल र वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले घिसिङलाई पुन:स्थापन गर्न र शाक्यलाई काम गर्नबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए। तर सर्वोच्च अदालतले भने घिसिङका पक्षमा अन्तरिम आदेश दिएन।



