काठमाडौं। काठमाडौंमा आज राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्दैछन्। राजतन्त्र पक्षधर समूहको प्रदर्शन तीनकुनेको कुला मैदानमा हुँदैछ भने गणतन्त्र पक्षधरले प्रदर्शनीमार्गको खुला सडकमा शक्ति देखाउँदै छन।
दुबै समूहले आफ्नो प्रदर्शनलाई सशक्त देखाउन ठाउँठाउँबाट र्याली निकाल्दैछन। राजावादीहरुको र्याली चक्रपथ सडक हुँदै तीनकुने आउने गरेर सुरक्षा निकायले प्रवन्ध गरेका छन भने गणतन्त्रवादीहरुको र्याली चक्रपथ भित्रका सडक हुँदै भृकुटीमण्डप अगाडीको सडकमा गएर सभामा परिणत हुने तय भएको छ।
गणतन्त्रवादीको प्रदर्शनको नेतृत्व समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन्।
यस्तै राजावादी समूहको नेतृत्व नवराज सुवेदीले गरेका छन। यस्तै दुर्गा प्रसाईं सो समुहको प्रदर्शन कमान्डर तोकिएका छन।
दुबै प्रदर्शनलाई लक्षित गरेर सुरक्षा निकायले काठमाडौंको सुरक्षा प्रवन्ध चुस्त बनाएका छन। काठमाडौंमा हुने प्रदर्शलाई लक्षित गरेर २५ सय नेपाल प्रहरी र १७ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहेका एआईजी टेकबहादुर तामाङका अनुसार काठमाडौंका सडकमा २५ सय जनशक्ति खटाइएको जानकारी दिए। यस्तै ड्रोनबाट समेत निगरानी गर्ने गरि तयारी गरिएको उनले जानकारी दिए।
यो संख्या बाहेक सादा पोशाकमासमेत काठमाडौंमा सुरक्षाकर्मी खटाइएको छ। उनीहरुले अवस्थाको विश्लेषण गरेर थप सुरक्षा बन्दोबस्तीका लागि समन्वय गर्नेछन।
यस्तै सशस्त्र प्रहरीबाट १७ सय ५० जनशक्ति खटाइएको छ। सशस्त्र प्रहरी नेपाल प्रहरी भन्दा बाहिरी घेरामा हुनेछन।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार प्रदर्शनका लागि सशस्त्रका ५० प्लाटुन प्रहरी परिचालन गरिएको छ। सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज रहनेछ। यी बाहेक राष्ट्रिय अनुसन्धान विभागबाट पनि कर्मचारी खटाइएको छ भने नेपाली सेनाको इन्टेलिजेन्स फौज पनि परिचालन भएको छ। सेनाको जनशक्तिसमेत सादा पोशाकमा रहनेछन।
आजको प्रदर्शनमा सबै सुरक्षा निकायबाट गरि ४५ सय भन्दा बढी जनशक्ति खटिनेछन।



