काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन।
पार्टी केन्द्रीय कार्यालय सानेपामा संघका नवनिर्वाचित अध्यक्ष माधव प्रसाद चम्लागाईंसहितका पदाधिकारी तथा सदस्यहरुलाई बोलाएर देउवाले लोकतन्त्रको रक्षाका लागि अपाङ्गता भएका ब्यक्तिहरुले दिएको योगदानलाई बोध गरेर अघि बढ्न निर्देशनसमेत दिए।
`लोकतन्त्रको लागि अपाङ्गता भएका ब्यक्तिहरुको ठूलो योगदान छ, त्यसलाई बुझेर उत्साहका साथ तपाईंहरू अघि बढ्नोस, लोकतन्त्रको रक्षाका लागि लागिरहनुस,´ देउवाले भने।
सभापति देउवाले कुनै पनि कारणले अपाङ्गता भएको भए पनि अपाङ्ग छु भन्ने नठानी उत्साहका साथ अघि बढ्नसमेत आग्रह गरे।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यसहित निवर्तमान अध्यक्ष प्रकाश पन्त र संस्थापक अध्यक्ष भोजराज श्रेष्ठसमेत सहभागी थिए।
यस्तै बिहीबार नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालेसमेत नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई बधाईं तथा शुभकामना दिएका छन।



