ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा पर्ने ओचु हाइटमा बहिनी जिस्काएको आरोपमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन।
घटना बुधबार राती ११ बजेको हो। प्रहरीले घटनाका आरोपीलाई नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटना एक महिलालाई जिस्काएको निहुँमा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
रामेछाप घर भएर ओचु हाइट बस्दै आएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका रिपक खातीको खुकुरी प्रहार गरेर हत्या गरेका हुन। सुमनले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा रिपकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको हो।
‘घटनाको कारण सामान्य देखिन्छ, बहिनी जिस्काएको विषयमा विवाद हुँदा घटनाले हत्याको रुप लिएको देखिन्छ, खुकुरी प्रहार गरेर हत्या भएको छ, हत्याका आरोपी पक्राउ परिसकेका छन, थप अनुसन्धान हुँदैछ,´ ललितपुर प्रहरीले भन्यो।
हत्या आरोपी रसाइलीलाई गए राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुर पठाइसकेको छ भने मृतकको सव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ।
उनीहरु दुबै जना चिनजानका साथी रहेको खुलेको छ। सुमनले बोलाएपछि रिपक ओचु हाईटमा रहेको एक मन्दिर नजिक पुगेका थिए। सो मन्दिर नजिकै सुमनके रिपकमाथि खुकुरीले आक्रमण गरेको बताइएको छ।
हत्याको विषयमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।



