काठमाडौं। काठमाडौंमा मोबाइल ब्यवसाय गर्दै आएका ब्यवसायीहरुले प्रहरीले मोबाइल मर्मत गर्दा बिनाकारण दुःख दिने गरेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका छन।
जिल्ला प्रहरी परिसर काठमाडौको आयोजना तथा नेपाल मोबाइल ब्यवसायी महासंघ काठमाडौ जिल्ला शाखाको समन्वयमा आज काठमाडौंमा आयोजित कार्यक्रममा ब्यवसायीहरुले मोबाइल मर्मतका समयमा प्रहरी प्रसाशनबाट दु:ख भोगेको सुनाए।
`प्रहरीसँग हामी ब्यवसायी सहकार्य होस भन्ने चाहन्छौ, तर प्रहरीले मोबाइल लक अनलक गर्दा हथकडी लगाएर लैजान्छ, मोबाइल मर्मतका लागि आउने ब्यक्ति को नेता? को कर्मचारी?, को चोर? भनेर लेखिएको हुँदैन, हामीले लक अनलक गर्ने कि नगर्ने?´ मोबाइल ब्यवसायी झलक कार्कीले प्रहरीसामु प्रश्न गर्दै भने।
उनले ब्यवसायीले भोग्दै आएका समस्या राख्दै अघि भने,`फोन लक भयो, पासवर्ड बिर्सें भनेर आउछन, खोल्ने कि नखोल्ने? मर्मत गर्न आउनेले फोन चोरेर ल्यायो कि उसैको फोन हो कसरी पत्ता लगाउने? लक खोल्ने कि नखोल्ने? कानुनी रुपमा समाधान खोजेर नेपालमै ढुक्क भएर काम गर्ने वातावरण कहिले बन्छ?´
अर्का ब्यवसायी राम भन्डारीले अनलाइन कारोबार गर्दा प्रहरीबाट दु:ख भोगेको भन्दै गुनासो गरे।
`अनलाइन मोबाइल बैंकिङले समस्या भयो, सेवाग्राहीले अनलाइनबाट पैसा तिर्न खोज्छन, कसको खाताबाट पैसा आयो हेर्न दिनुस् भनेर्ग्राहकसँग भन्न मिल्दैन, पैसा हाल्न लगायो, प्रहरीले तपाईं चौकी आउनेकी हामी आउँ भन्छ, अनलाइनबाट पैसा लिने कि नलिने?´
अर्का एक ब्यवसायी उस्तै गुनासो राखे। `आपत पर्यो मोबाइल राखेर पैसा दिनुस भनेर पनि सेवाग्राही आउछन, आमा छोरी नै पनि मोबाइल किनिदिनुस भनेर आएका छन, किन्यो प्रहरीले लैजान्छ।´ ती ब्यवसायीले भने।
ब्यवसायी सपना नहर्कीले पसल चोरी हुँदा भेटिएको समान समयमा नपाउनु ब्यवसायीको अर्को पीडा भएको सुनाइन।
`दुई वर्ष अघि पसल चोरी भयो, चोरी भएको समान भेटियो, मुद्दा चल्यो, तर अहिलेसम्म सामान फिर्ता पाइएन, एउटा ब्यवसायी सामान चोरी भयो भनेर प्रहरीलाई भन्न जान्छ, फेरि अदालत जान्छ, तर पनि सामान फिर्ता पाउँदैन, कहिलेसम्म धाउने?´ नहर्कीले प्रश्न गर्दै भनिन।

अर्का ब्यवसायी राज खनालले गलत क्रियाकलाप गर्नेलाई कानुनी कार्वाहीको दायरामा ल्याउन ब्यवसायीले सघाउने तर बिनाकारण ब्यवसायीलाई प्रहरीले दु:ख दिन नहुने बताए।
`गल्ती गर्नेलाई कारवाही हुनै पर्छ, गल्ती नगर्नेलाई दुख नदिइयोस´ खनालले भने।
कार्यक्रममा अर्का ब्यवसायी रोज श्रेष्ठले प्रहरीले ब्यवसायीलाई साथ नदिएको गुनासो गरे।
मोबाइल ब्यवसायी संघ काठमाडौका अध्यक्ष सुरेश बानियाँले ब्यवसायी र प्रहरी मिलेर अपराध न्यूनीकरण गर्न सकिने बताए। उनले ब्यवसायीलाई अनावश्यक झमेलामा नपार्न प्रहरीलाई आग्रह गरे।
नेपाल मोबाइल ब्ययसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले अनलाइन कारोबारका कारण ब्यवसायी अप्ठ्यारोमा परेको तथा लक अनलक र सेकेन्ड ह्यान्ड कारोबार गर्दा समस्या देखिएकाले कानुन नबन्दासम्म करार सम्झौता गरेर अघि बढ्न सकिने विकल्प रहेको बताए। सो कार्यमा सघाउन प्रहरीलाई भट्टराईले आग्रह गरे।
भट्टराईले ब्यवसायीले लक अनलक गरे मात्र चोरीका मोबाइल भेटाउन प्रहरीलाई सहज भैरहेको तर लक खोलेकै कारण प्रहरीले ब्यवसायीलाइ पक्राउ गर्ने गरेको बताए।
`ब्यवसायीले लक अनलक गरेकै कारण चोरीका मोबाइल भेटाउन प्रहरीलाई सहज भैरहेको छ, तर लक खोलेकै कारण प्रहरीले ब्यवसायीलाइ पक्राउ गर्ने गरेको छ, यो समस्या समाधान गरेर ब्यवसायीलाई ढुक्क भएर काम गर्ने वातावरण बनाऔं,´ भट्टराईले भने।
ब्यवसायीका गुनासो र समस्या सुनेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले देशैभरमा अपराधका घटनाको प्रमुख कारण मोबाइल माध्यम बन्ने गरेको बताए।
`मोबाइलबाट हुने अपराधमा आर्थिक अपराध बढी छ, देशै भरमा बढी दर्ता हुने अपराधमा मोबाइल जोडिएको छ,´ काठमाडौ परिसर प्रमुख अधिकारीले भने।
उनले ब्यक्तिको मान, मर्यादार इज्जतसँग मोबाइल जोडिएकोसमेत बताए।
`ब्यक्तिको चरित्र हत्या, गोपनियतासँग जोडिएका कुरा, संविधानमा जोडिएका कुरामाथी खेलबाड भैरहेको छ, समाजलाइ असान्त बनाउने, आक्रोश बढाउने काम मोबाइल तथा इलेक्ट्रोनिक माध्यमबाट भैरहेको छ, यस्ता घटना नियन्त्रण गर्न ब्यवसायीको साथ चाहिन्छ।´ अधिकारीले थपे।
उनले मोबाइल भित्र प्रयोग हुने एप्लिकेसन हरुलाई ब्यवसायीले बुझ्नु पर्नेसमेत बताए।
`मोबाइलमा पासवर्ड राखेर हामी सुरक्षित छौ? बैकं खाता, जीमेल, ह्वाट्स अप, लगायतका पासवर्ड मोबाइलमा राख्दा हामी सुरक्षित छौं कि छैनौं भनेर ब्यवसायीले सोच्नु पर्छ र सेवाग्राहीलाई पनि बताइदिनु पर्छ।´ उनले भने।
अधिकारीले मोबाइल ब्यवसायीलाई आफ्नो, ब्यवसाय र सेवाग्राहीको सुरक्षामा ध्यान दिएर काम गर्नसमेत आग्रह गरे।
उनका अनुसार परिसर काठमाडौंमा ९ हजार ८०० निवेदन मोबाइल हराएका घटनासँग सम्बन्धित रहेको जानकारी दिए।
प्रहरीले सीसीटिभी, लोकेसन, ब्यवसायीले प्रयोग गर्ने डिभाइस, सेवा प्रदायक संस्थाको सहयोग, एमडीएमएसमा आबद्ध भएको आधार तथा मोबाइलमा प्रयोग भएका एपको प्रयोगका आधारमा हराएका मोबाइल फेला गर्ने गरेकोसमेत बताए।
अधिकारीले दुई/तीन प्रतिशत ब्यक्तिले गलत काम गर्दा ९७ प्रतिशतले मार भोग्नु परेको यथार्थता हरेक क्षेत्रमा रहेको भन्दै प्रहरीले ब्यवसायीसँगै सहकार्य गरेर अपराध न्यूनीकरणमा काम गर्न चाहेको बताए।
मोबाइल ब्यवसायीले धेरै अपराधका घटना नियन्त्रणमा सहयोग गर्न सक्ने भन्दै अधिकारीले सहकार्य गरेर देखिएका समस्याको समाधान गर्न सकिने प्रतिबद्धता जनाए।
कार्यक्रममा काठमाडौसहित भक्तपुर र ललितपुरका सात सय भन्दा बढी मोबाईल ब्यवसायी सहभागी थिए।




