काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको मतगणना सुरू गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन।
आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन समितिका संयोजक मधु आचार्यलाई निर्देशन दिएका हुन। संघको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो।
संघको नेतृत्वका लागि माधव प्रसाद चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार छन। अध्यक्षका उम्मेदवार चम्लागाईले सोमबार बिहान ६ बजे मतगणना सुरुहुने जानकारी प्राप्त भएको र केन्द्रीय कार्यालय बोलाइएको बताए।
शनिबार सम्पन्न मतदानको गणना आइतबार साँझसम्म सुरु नभएको भन्दै संघका केन्द्रीय प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नारावाजी गरेका थिए। त्यहिबेला कांग्रेस पार्टी कार्यालय भित्र कार्यसम्पादन समितिको बैठक जारी थियो। त्यसपछि बैठकपछि आचार्यलाई सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन दिएका हुन।
संघको मतदान प्रक्रिया सुरु गर्नु अघि कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले निर्वाचन समितिले तयार गरेको पत्रमा हस्ताक्षर गरेका थिए। तर मतदान सकिएपछिको कागजी प्रक्रियामा हस्ताक्षर नगर्दा गणना रोकिएको थियो। श्रेष्ठ कांग्रेसले लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सम्पन्न गर्न बनाएको निर्देशन समितिका सदस्य हुन।
यस्तै समितिकी अर्की सदस्य सरस्वती बजिमय विदेशमा छिन। निर्वाचनका लागि काग्रेसले केन्द्रीय नेता रहनेगरी निर्देशन समिति बनाएको थियो।
मतदान प्रक्रिया सुरु भैसकेपछि चम्लागाई बाहेका दुई अध्यक्ष थापा र खडका मतदानको विरोधमा उत्रिएका थिए। उनीहरुले कांग्रेस पार्टी कार्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको थियो।
निर्देशक समितिका सदस्य श्रेष्ठले आफुले निर्वाचन प्रक्रिया अघि बढाउन सहमति दिएर हस्ताक्षर गरेको तर पछि प्रक्रिया गलत भएको भन्दै मतदान सकिएपछि आवश्यक प्रक्रियामा सहभागी नभइ हिडेका थिए।
`मैले निर्वाचन सुरु गर्न सहमति दिएको हुँ, कागजी प्रक्रियामा हस्ताक्षर गरेको छु, तर साथीहरु मान्नु भएन, सभापतिलाई मिलाउनु पर्छ भनेको हुँ,´ श्रेष्ठले आइतबार कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिंदै गर्दा भने।
उनले निर्वाचन सुरु गर्न आफुले हस्ताक्षर गरेको स्वीकार गर्दै कमजोरी भएको बताए। उनलाई कांग्रेस सचिव प्रेम केसीले पटकपटक फोन गर्दा पनि सम्पर्कमा आएका थिएनन।
श्रेष्ठले मतदाताको नाम प्रकाशन गर्न ढिला भएकाले आफुले विरोध गरेको बताए। यस्तै मतदाताको सम्पर्क नम्बर नटाँसिएकोमा आफ्नो विरोध रहेको उनले बताएका हुन।
निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भैसकेको छ ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।
जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ। बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।
यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् ।
खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेको वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महाधिवेशन उद्घाटन भएको थियो।



