काठमाडौं। नेपाली कांग्रेसले संविधानलाई कार्यान्वयन गर्ने दिशामा दृढ भएर उभिने तर अहिलेकै अवस्थामा गणतन्त्र पक्षधरको मोर्चा बनाएर सडकमा नजाने निर्णय गरेको छ।
आइतबार बसेको कार्यसम्पादन समिति बैठकबाट कांग्रेसले संविधानको रक्षा गर्ने गरि दृढ भएर उभिने निर्णय गरेको हो। कांग्रेसले संघीयता र गणतन्त्रका विरुद्ध गतिविधि भएको भएपनि तत्काल परिवर्तन पक्षधरहरुको मोर्चाबन्दी पनि आवश्यक नभएको भनेको छ।
कांग्रेसले बैठकबाट यही संविधानमार्फत जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरूलाई सम्बोधन गर्न सकिने विश्वाससमेत व्यक्त गरेको छ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले संविधानको पक्षमा दृढताका साथ उभिने तथा गणतन्त्र पक्षधरहरुको अहिले नै मोर्चाबन्दी जरुरी नभएको निर्णय बैठकले गरेको जानकारी दिएका हुन।
यस्तै बैठकले विदेशस्थित जनसम्पर्क समितिमा ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’ र ‘जनसम्पर्क समितिको सदस्यता’ हुने निर्णय गरेको हो।
जसअनुसार नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य जनसम्पर्क समितिको विधानमा व्यवस्था भए बमोजिम कांग्रेसको क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णयमा उल्लेख छ।
जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैर आवासीय नेपाली परिचयपत्र वा गैर आवासीय नेपाली (एनआरएनए) नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई वाधा नपुग्ने कांग्रेसको निर्णयमा उल्लेख छ।
यस्तै पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ भने जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको कांग्रेसद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘यो व्यवस्था लागु हुनु पूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकहरुको हकमा निजहरुले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रुपान्तरित हुनेछ। साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिनेछ’, निर्णयमा भनिएको छ।
बैठकले समसामयिक राजनीतिक विषयवस्तु, नेपाली जनसम्पर्क समिति, पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सम्बन्धी, स्ववियु निर्वाचन सम्बन्धी, सिराहा घटना सम्बन्धी र अनुमोदन सम्बन्धी निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर केसी, ज्ञानन्द्रबहादुर कार्की, डा नारायण खड्का, सुजाता कोइराला, एनपी साउदले आफ्नो धारणा राखेका थिए।



