मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिक्तेलमा ३४ जनाको आँखाको शल्यक्रिया

दिक्तेलमा ३४ जनाको आँखाको शल्यक्रिया

images
२०८१ चैत्र १० गते, आइतवार
२०८१ चैत्र १० गते, आइतवार
  • खोटाङ। नेपाल नेत्रज्योति संघ खोटाङले दिक्तेल बजारमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ। पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

    images

    सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी सहभागी थिए।

    images

    शिविर यही चैत ११ सम्म सञ्चालन हुने आयोजक नेत्रज्योति संघका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए। शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ।

    आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ।

    जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो।

    तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क  चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।

    नेत्रज्योति सङ्घले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ। यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ।

    जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ। उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिए।

    शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरेका थिए। २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको नेत्रज्योति संघले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ।

    सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend