काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत पाटन पुगेका छन।
लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएका हुन।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनीसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाएपछि उनी हिरासतमा नबसी बाहिरै रहेर मुद्दा लड्दै आएका छन।
काठमाडौं जिल्ला अदालतको सो आदेश चित्त बुझ्दो नभएको तथा सो आदेश बदर हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा लामिछानेले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन्।
उच्च अदालतबाट बाहिरिंदै लामिछानेले सरकारको लाज छोप्नकै लागि आफू अदालत धाइरहेको र छिटै आफुले मुख खोल्ने बताए।
उनले अहिले आफुले बोल्दा सरकालाई अप्ठ्यारो पर्ने भन्दै जिम्मेवार राजनीतिक दलको नेता भएकाले धैर्य गरेरै बोल्ने र आफू बोलेपछि धेरैको मुख बन्द हुने बताए।



