बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट एन्जियोप्लाष्टी उपचार सेवा सुरु भएको छ। सो अस्पतालमा पहिलोपटक एन्जियोप्लाष्टी उपचार सुरु भएको हो।
वरिष्ठ कार्डियोलोजिष्ट डा रोशन घिमिरेको नेतृत्वमा अस्पतालमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए।
डा ढकालले यो सेवा सुरु भएसँगै बिरामीलाई अन्यत्र जानै पर्ने बाध्यताको अन्त्य हुने बताए।
उपचारमा संलग्न डा घिमिरेले मुटु रोग उपचारमा लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ उपलब्धि प्राप्त भएको प्रतिक्रिया दिए। उनका अनुसार एन्जियोप्लास्टी एक गैरसर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ।
विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरू थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढकाल बताउँछन।
अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ। क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको अस्पतालको तथ्याङ्क छ।
अस्पतालमा केहीअघिदेखि ट्रेड मिल टेस्ट (टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ। यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुने बताइन्छ।



