भक्तपुर। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहीबार विहान ८ बजेदेखि एसइई परीक्षा सुरु भएको हो।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले देशभर एकैसाथ एसइई परीक्षा सुरु भएको जानकारी दिए। ‘देशैभर एकसाथ परीक्षा सुरु भएको छ, सबै जिल्लाबाट कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ।´ पौडेलले भने।
उनले यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिए। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ।
नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै उनले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गरे।
परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ।
यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।
यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् भने त्यहाबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिंदै छन्।
यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिने भएका हुन्।
यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ। १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।



