मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाकसमा आमाको शव, छोरीको प्रश्न, 'हजुरआमा, ममी कहिले आउनुहुन्छ?´

बाकसमा आमाको शव, छोरीको प्रश्न, 'हजुरआमा, ममी कहिले आउनुहुन्छ?´

images
२०८१ चैत्र ५ गते, मंगलवार
२०८१ चैत्र ५ गते, मंगलवार
  • नवलपरासी। मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो। घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो। परदेशी भूमिमा श्रम बेच्न गएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरि आफन्तकाबीचमा बाकसभित्र आइपुगेकी थिइन्।

    images

    घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी सोध्छिन्, 'हजुरआमा, ममी कहिले आउनुहुन्छ' तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्दिनन्। उनी चुपचाप आँसु पुछ्दै बन्द बाकसतिर हेरिरहन्छिन्, जहाँ उनकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहेकी छिन्। घरको माहोल शोकमग्न छ, छिमेकीहरू मौन छन्  तर, कसैले भन्न सक्दैन-'नानी तिम्री ममी अब कहिल्यै फर्किन्नन्।' 

    images

    श्रीमानसँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु तिलमायाको बाध्यता बन्यो। गाउँमा रोजगारी थिएन, उधारोले घर चल्न सकेन र उनले रोजिन् वैदेशिक रोजगारीका लागि मलेसिया। 'केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु', भन्दै उनले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाएर मलेसियातर्फ लागिन्। तर, परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो। गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमायाले गरेको फोन नै अन्तिम फोन थियो।

    त्यसको केही दिनपछि अचानक फोन आयो, 'तिलमायाको हत्या भयो।' यो खबरले परिवारलाई छियाछिया बनायो। पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो। अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो। 

    तिलमायालाई अन्तिम श्रद्धाञ्जलि दिन गाउँका सबै जम्मा भए। धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो। मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो। हत्या गरिएको बीभत्स शव नेपाल ल्याउन परिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो।

    आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामर्शदाता रञ्जना लम्सालले बताइन।

    'सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन', उनले भनिन्, 'शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र अबको १५/२० दिनमा राहत पनि आइसक्ने छ।' वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गर्ने व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ।

    सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend