भक्तपुर। भक्तपुर सल्लाघारीमा रहेको राजर्षि गुरुकुलले विद्यार्थीहरुको बौद्धिक विकासका लागि सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गरेको छ। गुरुकुलले वार्षिक कार्यक्रम अन्तर्गत ‘ओपन हाउस’ आयोजना गरेको हो।
विद्यार्थीहरूमा निहित प्रतिभा प्रष्फुटन तथा उनीहरुको बौद्धिक विकास गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रवन्ध निर्देशक दिनेश भुसालले जानकारी दिए।
कार्यक्रममा विद्यार्थीहरूले वर्षभरिमा गरेका शैक्षिक क्रियाकलापहरु साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहरुपनि समावेश गरिएको निर्देशक भुसालले बताए।
कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले प्रस्तुत गरेको मस्तिष्क सम्बन्धी विशेष कार्यक्रमले विद्यार्थीहरुको मस्तिष्कलाई सक्रिय बनाउन र शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुगेको उनले बताए।
कार्यक्रममा विद्यार्थीहरुले मस्तिष्कका विभिन्न भागहरु जस्तै सेरिब्रल कोर्टेक्स, सेरिबेलम र ब्रेनस्टेमको मोडल बनाएर तिनको कार्यको व्याख्या गरिएको, स्नायु तन्तुहरु कसरी कार्य गर्छन् भन्ने विषयमा सचित्र व्याख्या गर्दै विद्यार्थीहरूले प्रत्यक्ष प्रयोगात्मक गतिविधि प्रस्तुत गरिएको कार्यक्रम संयोजक मुकेश दंगालले जानकारी दिए।
‘कार्यक्रम अलिक पृथक नै थियो। विद्यार्थीहरुले मस्तिष्कलाई स्वस्थ राखुपर्ने खानपान, जस्तै ओमेगा–३ फ्याटी एसिडयुक्त खाना, सागसब्जी, मेवा, ओखर, तथा नट्सको महत्वबारे जानकारी दिने, मस्तिष्क सृजनात्मकता अभिवृद्धि गर्ने खेलहरू, मेमोरी गेम, ध्यान केन्द्रित गर्ने गतिविधिहरू र द्रुत गणनासम्बन्धी खेलहरुको प्रदर्शनीले विद्यार्थीहरुमा असिमित फाइदा पुगेको छ,’ संयोजक दंगालले भने।
कार्यक्रममा अभिभावकहरूलाई समेत सहभागी गराएर मेमोरी पावर जाँच गर्ने खेल खेलाइएको थियो। त्यस्तै जटिल गणितीय समस्या चाँडो समाधान गर्ने दिमागी खेल, मानव मस्तिष्क कसरी दृश्य भ्रामकताबाट प्रभावित हुन्छ भन्ने विषयहरु पनि देखाइएको थियो।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका शिक्षा संकायका एसोसिएट डिन प्रोफेसर डा.हेमराज काफ्लेले विद्यार्थीहरूको शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै उनीहरुलाई तार्किक, रचनात्मक र व्यावहारिक ज्ञान दिनुपर्ने बताए।
उनले भने, ‘विद्यार्थीहरूको शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त हुँदैन। उनीहरुलाई तार्किक, रचनात्मक र व्यावहारिक ज्ञान दिन यस्ता गतिविधिहरु अत्यन्तै उपयोगी छन्। मस्तिष्कसम्बन्धी यी प्रस्तुतिहरूले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच र सृजनशीलता विकास गर्ने अवसर प्रदान गर्छ।’
सो अवसरमा आरजी च्याम्पियनसिप लिग २०२४÷२५ का विजयी विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरूले विद्यार्थीहरूलाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
चौधरीले मस्तिष्क सम्बन्धी क्रियाकलापको महत्त्व दर्शाउँदै विद्यार्थीहरुलाई केवल किताबी ज्ञानमा सीमित नराखी, उनीहरूको सृजनात्मकता, तार्किक क्षमता, र व्यावहारिक जानलाई सशक्त पार्नुपर्ने बताए।
विद्यालयका प्रवन्ध निर्देशक दिनेश भुसालले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन हुने तथा अहिलेको प्रतिस्पर्धात्मक युग सापेक्ष जनशक्ति उत्पादन हुने कुरामा आफ्नो विचार राखेका थिए।
विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकासका साथै सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने कुरामा जोड दिएका थिए।
सो अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न किसिमका डान्स, म्यूजिक, कराते, गल्फ, स्केटिङ आदिमा सहभागी भई आफ्नो कला प्रदर्शन गरेका थिए।
कार्यक्रममा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित सम्बन्धी परियोजनाहरूको प्रदर्शनी गरिएको थियो। आरजी थ्र डी आड़ प्रोग्राम, ड्युक अफ एडिनबर्ग, म्यान्डरिन जस्ता सिकाइका विविध प्रविधिहरू समावेश थिए।
विद्यार्थीहरूले आरजी पोडकास्टमा आगन्तुक तथा अभिभावकहरुलाई विभिन्न अन्तरक्रियाहरु राखेका थिए।



