काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरूले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन्।
सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले जानकारी दिए।
मन्त्रालयको तालिकाअनुसार अस्पतालहरूमा एक्स-रे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शय्या विस्तार गर्ने आदि छन्।
मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाइकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ। वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन्।
भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ।यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोस्रो साताभित्र आरम्भ गर्नेछ।
यसैगरी कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेस्रो साताभित्र आरम्भ गर्नेछ। भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्ने स्वास्थ्य सचिव देवकोटाले बताएका हुन।
यस्तै तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ। डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमुना सङ्कलन सेवा चैत्र तेस्रो साताभित्र सुरु हुनेछ।
नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ। भेरी अस्पतालले भने १० आइसीयु शय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ।
चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।



