काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन्।
वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिष्ट्रारका रुपमा कार्यरत थिए म। गत ६ माघमा उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उनी कायममुकायम उपकुलपति बनेका थिए।
अर्थशास्त्रका प्राध्यापक वाग्लेले केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रुपमा काम गरिसकेका छन।
उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुर (आईआईटी कानपुर) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्। बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका वाग्लेसँग प्रधानमन्त्रीको सल्लाहकार तथा नेपाल राष्ट्र बैंकको गभर्नरको सल्लाहकारसमेत भएर काम गरेको अनुभव छ।



