काठमाडौं। गृहमन्त्री रमेश लेखकले मंगलबारबाट सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई शुभकामना सहित बिदाइ गरेका छन्।
सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनोसहित बिदाइ गरेका हुन।
सो अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे।
कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने शुभकामनासमेत दिए।
कार्यक्रममा सहभागी गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढी प्रगतिको लागि शुभकामना व्यक्त गरे।
सो अवसरमा कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायत सहभागी थिए।



