जनकपुर। सर्लाहीको मलंगवामा १५ वटा अस्पताल अनाधिकृत रुपमा संचालन भएको पाइएको छ
मधेस प्रदेश सरकारले १९ वटा विभिन्न अस्पतालमा अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भएको पाइएको हो। ती १५ वटै अस्पताललाई बन्द गर्न सरकारले निर्देशन दिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो।
त्यसक्रममा १५ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।
सेवा सञ्चालन अनुमति लिएका तर नवीकरण नगरेका जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको छ। ती स्वास्थ्य संस्थालाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको हो।
‘चार–पाँच अस्पतालबाहेक सबैमा ताल्चा लागेको पाइयो, मुख्यमन्त्री आएको हल्लापछि उनीहरुको भागाभाग भएको देखियो, तीनवटाले मात्र नवीकरण नभएको सेवा सञ्चालन अनुमतिपत्र देखाए, नवीकरण फेल भएकाहरुलाई दुई महिनाभित्र नवीकरण गर्न भनिएको छ।´ जनस्वास्थ्य अधिकृत ठाकुरले भने।
यस्तै म्याक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसिस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।
यसैगरी इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्स–रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धीदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई पनि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका छन।
प्रदेश स्वास्थ्य तथा जनसंख्या जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, प्रादेशिक अस्पतालमा बिरामीहरूलाई खुवाउने खाना समेत अस्वस्थकर पाइएको छ। त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताल प्रमुखलाई क्यान्टिन परिवर्तन गर्न निर्देशनसमेत दिएका छन।
त्यस्तै, आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्णरूपमा परिचालन गर्न तथा अन्तरङ्ग कक्षमा उल्लिखित एम्बुलेन्स चालकका नाम हटाउन पनि निर्देशन दिइएको छ।



