काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिव रहेका १२ औं तहका डा. टंक बाराकोटीले स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्दै पदबहाली गरेका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै उनलाई महानिर्देशक नियुक्त गरेका थिए। उनी आज शुक्रबार बिहानै पत्र बुझ्दै पदबहाली गर्न टेकुस्थित कार्यालय पुगेका हुन।
`आज बिहानै पत्र बुझें, अहिले भर्खरै पदबहाली गरेर कुर्सीमा बसें,´ डा. बाराकोटीले एक्सरे नेपालसँग भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने दौडमा रहेका डा. बाराकोटी सचिवका लागि तेस्रो नम्बरमा सिफारिसमा परेका थिए। तर सचिव सिफारिसका लागि दोस्रो नम्बरमा परेका डा. विकास देवकोटालाई गत साताको बुधबार बसेको मन्त्रीपरिषद बैठकले सचिव नियुक्त गरेपछि डा. बाराकोटी सचिवको दौडबाट बाहिरिन पुगेका थिए। त्यसपछि डा. बाराकोटीलाई स्वास्थ्य मन्त्री पौडेलले `न्याय´ गर्ने बताएका थिए।
डा. बाराकोटी बाहेक डा. संगिता कौशल मिश्रा पनि १२ औं तहकी डाक्टर हुन्। तर मिश्रालाई विभागको महानिर्देशकबाट मन्त्री पौडेलले नै हटाएका थिए। त्यसपछि पौडेलले हालका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई महानिर्देशक बनाएका थिए।
विसं २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी २०७९ चैत १३ मा १२औँ तहमा बढुवा भएका थिए। त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै स्वास्थ्य मन्त्रालयमा आएका हुन्। उनले अधिकांश समय काठमाडौं बाहिर बसेर सेवा गरेका छन।



