काठमाडौं। नेपाल प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा बिहीबार काठमाडौंबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिला गरि ५५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पांग्रे २३० र चारपांग्रे २३ गरी २५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ।
जसमा मादकपदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठवटा छन्। पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ। उनीहरू उपर थप अनुसन्धान हुँदैछ।
प्रहरीले काठमाडौंबाट मात्रै २१९ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। जसमा चारपांग्रे १८ तथा दुईपांग्रे २०१ छन्।
आज साँझसम्म दुईपांग्रे ११६ तथा चारपांग्रे १३ गरी १२९ सवारीसाधन छाडिसकिएको प्रहरीले जानकारी दिएको हो।
होलीमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न भन्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएरै चेकजाँचमा कडाइ गरेका थिए। बिहीबार बिहानैदेखि ट्राफिक प्रहरी र जनपद प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न १ सय २१ ठाउँमा चेकजाँच गरेका थिए। यस्तै सादा पोशाकमासमेत प्रहरी खटाइएको थियो।
चेकजाँचमा खटिएका प्रहरीले सवारीसाधन चलाउनेहरुले मादक पदार्थ र लागुपदार्थ सेवन गरे नगरेको चेकजाँच गरेका थिए।



