काठमाडौँ। नेपाल प्रहरीले काठमाडौ उपत्यकामा होली सुरक्षा योजना लागू गर्दै सडकमा चेकजाँच कडा गरेको छ।
होलीमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न भन्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएरै चेकजाँचमा कडाइ गरेको हो। बिहीबार बिहानैदेखि ट्राफिक प्रहरी र जनपद प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न १ सय २१ ठाउँमा चेकजाँच गरिरहेका छन।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँचका लागि प्रहरी परिचालन गरिएको छ।
जेकजाँचमा खटिएका प्रहरीले सवारीसाधन चलाउनेहरुले मादक पदार्थ र लागुपदार्थ सेवन गरे नगरेको चेकजाँच गर्ने खनालले जानकारी दिए ।
‘चालकले लागु पदार्थ र मादकपदार्थ सेवन गरे नगरेको बारे परीक्षण गर्न प्राविधिक सहितको टिम खटाउन निर्देशन दिएका छौँ, सेवन गरेको भेटिए कारवाही हुन्छ,´ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले भने।
उनका अनुसार तीन जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ। पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन्।
यस्तै इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छन। यसैगरी सीसीक्यामेरा र ड्रोनबाट पनि अवाञ्छित गतिविधिबारे मनिटर गर्ने गरेर प्रहरी खटाइएको छ।
दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना छ। यस्तै ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बोकेको पाइएमा कानुनी कारबाही हुने खनालले जानकारी दिए।
होलीको सुरक्षाका लागी काठमाडौं जिल्लामा मात्रै २ हजार भन्दाबढी प्रहरी खटाएको छ। काठमाडौंको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।
उनले होलीमा कसैले इच्छा विपरीत जबर्जस्ती लोला हान्ने रंग दल्ने कार्य गरेमा १ सय नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे। यस्तै लागु मापसे र लापसेको परीक्षण कडाइका साथ गरिने उनले जानकारी दिएका हुन।



