काठमाडौं। बिरगंज बजारको मुख्य सडक विस्तारका लागि बाटो खुलेको छ। सर्वोच्च अदालतमा सडक विस्तारका विरुद्ध परेको रिट खारेज भएसँगै रोकिएको बिरगंजको मुख्य सडक विस्तारको कार्य अघि बढाउन बाटो खुलेको हो।
बिरगंजको मेन रोड क्षेत्रमा पर्ने पाँच घरधनीले सडकको दायाँबायाँ २५–२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। बिरगंज महानगरपालिकाका लक्ष्मण साह रौनियारसहित पाँच जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै फरकफरक मितिमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।
रिट दायर भएसँगै त्रिभुवन राजपथ अन्तर्गतपर्ने गण्डकचोकदेखि पावर हाउसचोक, घण्टाघरदेखि–आर्दशनगर, रजतजयन्ती चोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम रोकिएको थियो।
सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले बुधबार रिट निवेदकहरूको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको हो। सर्वोच्चमा सो रिट परेसँगै सडक विस्तारको काम रोकिँदै आएको थियो।



