काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको प्रतिस्पर्धामा रहेका डा. टंक बाराकोटीलाई स्वास्थ्य सेवा बिभागको महानिर्देशक बनाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. बाराकोटीलाई बिभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन। उनी १२ औं तहका डाक्टर हुन।
सचिवको लिस्टमा तेस्रो नम्बरमा नाम भएर पनि मन्त्रालयको सचिव हुन नसकेपछि उनी मौन थिए। तर मन्त्री पौडेलले उनलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै बिभागको महानिर्देशक बनाएका हुन।
`मन्त्रीस्तरीय निर्णयमार्फत डा. बारकोटीलाई बिभागको महानिर्देशक बनाइएको छ, बुधबार पत्र बुझ्न आउनुहुन्छ,´ मन्त्रीको सचिवालय स्रोतले भन्यो।
यसअघि बिभागको महानिर्देशक रहेका विकास देवकोटा स्वास्थ्य मन्त्रालयको सचिव बनिसकेका छन। उनी सचिब बनेपछि सो पद रिक्त थियो।
विसं २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी २०७९ चैत १३ मा १२औँ तहमा बढुवा भएका थिए। त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै स्वास्थ्य मन्त्रालयमा आएका हुन्। उनले अधिकांश समय काठमाडौं बाहिर बसेर सेवा गरेका थिए।



