काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा काठमाडौंको सडक फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवानाको पत्र काटेको छ।
काठमाडौँ महानगरपालिकाले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै पत्र काटेको हो। आइतबार राप्रपाले गरेको पूर्वराजा शाहको स्वागत र्यालीका क्रममा महानगरका भौतिक पुर्वाधारमा क्षती पुगेको र सडक फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो।
काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’




