कञ्चनपुर। प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन।
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका हुन।
`गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर मैले पहिलेदेखि नै कुरा उठाउँदै आएको छु, यो खुसीको कुरा हो, नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ।’ प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा ३७२ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्राडा सतपालसिंह अतिथि रहेका थिए ।



