काठमाडौँ। प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कतार, चीन र मलेसियाबाट आएका जहाज अन्यत्र डाइभर्ट भएका छन। यस्तै बाह्य तथा आन्तरिक कैयौँ हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ।
यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्ली डाइभर्ट भएको छ। त्यस्तै चिनको तियाङ्फुबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ।
मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन्। कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ। साथै अधिकांश उडान डिले भएका छन्। प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ।



