बागलुङ। आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो। निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए।
नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ। बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए।



