मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य सचिव बन्न दौडधुप, राजनीतिक पहुँचकै भर

स्वास्थ्य सचिव बन्न दौडधुप, राजनीतिक पहुँचकै भर

कसले पाउला नेतृत्व?

images
२०८१ फाल्गुण १६ गते, शुक्रवार
२०८१ फाल्गुण १६ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबारबाट रिक्त भएको सचिव पदमा तीन जनाबिच रस्साकस्सी देखिएको छ। नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेसँगै रस्साकस्सी बढेको हो। सरकारले केही दिन भित्रै नयाँ स्वास्थ्य सचिव नियुक्त गर्दैछ।

    images

    मन्त्रालयको सचिव पदबाट फागुन ११ गते आइतबारदेखि डा. रोशन पोखरेलले उमेर हदका कारण अवकास पाएपछि तीन जनाको नाम सिफारिस भएको थियो। सचिवका लागि पहिलो नम्बरमा डा.संगीता कौशल मिश्रा, दोस्रो नम्बरमा डा. विकास देवकोटा र तेस्रो नम्बरमा डा. टंक बराकोटीको नाम सिफारिसमा परेको छ।

    images

    नाम सिफारिस भएसँगै तीनै जनाले आगामी पाँच बर्षका लागि मन्त्रालयकोे नेतृत्वका लागि लबिङ तिब्र बनाएका छन्।

    लोक सेवा आयोग अन्तर्गतको बढुवा समितिको गत सोमबार बसेको बैठकले उनीहरु तीनैजना अतिरिक्त सचिवको नाम सचिवमा सिफारिस गर्ने निर्णय गरेपछि राजनीतिक लबिङसमेत बढेको छ। राजनीतिक नेतृत्व तहमा कुरा नमिलेपछि स्वास्थ्य सचिव नियुक्त हुन सकेको छैन।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नै सचिव तय गर्ने बताइएको भएपनि निर्णय भने हुन सकेन।

    तीनै जना बलिया

    स्वास्थ्य र प्रशासनतर्फ गरी दुई सचिव रहने मन्त्रालयमा हाल सिफारिसमा परेका तीनै जना बलिया दाबेदार हुन्। पहिलो नम्बरमा सिफारिस भएकी डा. मिश्रा मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छिन्।

    २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी बिचमा ग्याप गरेर पुन खुला प्रतिस्पर्धामार्फत्  सिधै २०७० सालमा सरकारी सेवामा फर्किएकी हुन्। खुला प्रतिस्पर्धाबाट सिधै ११औँ तहमा नाम निकालेकी मिश्राले कोसी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुखको जिम्मेवारी निभाएकी थिइन्

    २०८० भदौ १३ देखि करिब एक बर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरी मन्त्रालयमा आएकी उनले कुनै समय मन्त्रालयमै प्रवक्ताका रुपमा पनि काम गरेकी थिइन्। 

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कोशी अस्पताल व्यवस्थापनमा उत्कृष्ट काम गरेर प्रशंसा पाएकी डा.मिश्राकै अगुवाइमा नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना भएको थियो।

    यसैगरी दोस्रो नम्बरमा सिफारिस भएका देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन्। २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्। २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन।

    विसं २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी भने २०७९ चैत १३ मा नै १२औँ तहमा बढुवा भएका थिए। त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै मन्त्रालयमा आएका हुन्।

    नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ।

    सिफारिस समितिले १२औं तहमा बराकोटी र देवकोटा भन्दा दश महिना पहिले बढुवा भएकाले डा.मिश्राको नाम पहिलो नम्बरमा सिफारिस गरेको जनाएको छ। देवकोटा र बराकोटी भने ११औं र १२औं तहमा सँगै बढुवा भएका हुन्।

    अन्तिम कसरत

    महत्वपूर्ण मानिएको स्वास्थ्य मन्त्रालयको सचिव पद हत्याएर इतिहासमा नाम लेखाउने अभियानमा तीनै जनाले चर्को लबिङ गरिरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लाबासी डा. बाराकोटीले एमालेका नेताहरुमार्फत लबिङ गरिरहेका छन् भने डा. मिश्रा र देवकोटाले सत्ता पक्षमा रहेका सबै नेताहरुलाई भेटिरहेका छन्।

    डा.मिश्राको पक्षमा मन्त्रीदेखि सत्तारुढ दलमा समावेशिकरणको मुद्धामा वहस गरिरहेका नेताहरु खुलेरै लागेका छन्। तर विभागीय मन्त्री प्रदिप पौडेल भने तटस्थ देखिएका छन्।

    देवकोटाले पनि आफुलाई बलियो उम्मेदवारका रुपमा लबिङ बढाइरहेका छन। उनका पक्षमा कांग्रेसी नेताहरु लविङ्मा खुलेरै लागेका छन। देवकोटालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नै बिभागको नेतृत्वमा पुर्याएकाले उनलाई पनि सचिव बन्न सहज हुने अनुमान लगाइएको छ।

    डा.मिश्राले भने कार्य सम्पादन मूल्यांकन, बरिष्ठता, क्षमता र योग्यतालाई प्राथमिकता दिइनु पर्ने भन्दै निकटस्थहरुमार्फत लबिङ गरिरहेकी छन। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend