काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्न तयारी गरेको छ।
बिरामीको अत्यधिक चाप हुने देशकै जेठो अस्पताल वीरमा एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापनको तयारी गरिएको हो।
अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले अपरेशनलाई दुई सिफ्टमा गर्ने गरेर ब्यवस्थापकीय तयारी भैरहेको जानकारी दिएका हुन।
`अहिले एक सिफ्टमा अपरेशन भैरहेको छ, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं।´ निमित्त निर्देशक गौतमले भने।
ल्याब क्षमता वृद्धि
निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरुसमेत थपिएको बताए।
`ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, ´उनले भने, `बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ।´
डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकिएको बताए।
`अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,´ उनले भने, `अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन्।´
अस्पतालको सफाइका लागि काम शुरु
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ। शौचालय सफा नभएको बिरामी तथा कुरुवाको गुनासो पछि अस्पतालमा सरसफाइको काम समेत अघि बढाइएको हो।
`हामीले अस्पताललाई कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,´ उनले भने, `यसको नतिजा पनि चाँडै देखिनेछ।´
डा. गौतम एक साता अघिबाट वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन्।
यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए। यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए।


