काठमाडौं। नेपाल चिकित्सक संघले सरकारले आफ्ना मागमा बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ।
संघले आफूहरूको माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आन्दोलनको घोषणा गरेको हो। संघले सरकारलाई दिएको ४८ घण्टाको समय भित्रपनि माग पूरा नगरेकाले आन्दोलनको घोषणा गरिएको संघका महासचिव डा सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संघले आज बुधबार र भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्था अगाडि कालो पट्टि बाँधी कार्यालय समयको पहिलो १ घण्टा धर्ना दिने तय भएको जनाएको छ।
यी विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न बाध्य हुने संघले जनाएको छ। साथै यसबाट उत्पन्न हुने परिस्थिति प्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले चेतावनी दिएको छ।
संघले आवासीय चिकित्सक (एमडीरएमएसरएमडीएस)हरूको निर्वाह भत्तालाई नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समिति अन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने लगायतका नौ बुँदे माग अघि सारेको थियो।
नौ बुँदामा केही माग सम्बोधन गर्न सरकार तयार देखिएपनि सबै माग पूरा नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको संघको भनाइ छ।



