काठमाडौं। बाल क्यान्सर रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने औषधि नेपाल आइपुगेको छ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप नेपालले प्राप्त गरेको हो। यो औषधि बालबालिकालाई निशुल्क रुपमा लगाइने छ।
प्राप्त औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
'बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधीले महत्वपूर्ण भूमिका खेल्नेछन्,' उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीज्यूको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्वपूर्ण निर्णय हो।’
औषधि आउने क्रम सुरु भएको त थप औषधि क्रमैसँग उपलब्ध हुने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।
औषधि आइपुगेपछि निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका छौं, मन्त्री पौडेलले सन्देशमा भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं।’
मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको पनि उल्लेख गरे।
नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ। नेपालभरमा वार्षिक एक हजार पाँच सय बालबालिका विभिन्न क्यान्सर रोगबाट पीडित हुने अनुमान गरिएको छ।
नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उपचार गर्ने व्यवस्था मिलाउन ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी) ले निःशुल्क अभियान सुरु गरेको हो।
यस अभियानमा जीआईसीसीले सन् २०३० सम्म १० लाख क्यान्सरपीडित बालबालिकालाई बचाउने र विश्वभरि ६० प्रतिशत क्यान्सर निको गर्ने लक्ष्य लिएको छ। यो कार्यक्रमको पहिलो चरणमा जीआईसीसीले नेपालसहित छ वटा देशमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनेछ।



