काठमाडौं। पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा पुगेका अर्थमन्त्री विष्णु पौडेल घाइते भएका छन।
पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम उद्घाटनका क्रममा उडाउन फुलाइएको बेलुन अचानक फुटेपछि आगो लाग्दा कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेल घाइते भएका हुन।
उनलाई तत्काल पोखराको गण्डकी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहा सामान्य उपचार भएपछि उनलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो।
उद्घाटनका क्रममा पोखरा महानगरका मेयर धनराज आचार्य पनि घाइते भएका छन। उनलाई पनि थप उपचारका लागि काठमाडौ ल्याइएको छ। मन्त्री पौडेललाई हाइड्रोजन भरिएको बेलुन हस्तान्तरण गर्दै गर्दा नजिकै बालिएको झिरझिर बत्तिले बेलुनमा आगो टिपेको अनुमान छ।
बेलुन पड्किएर आगो सल्कँदा अर्थमन्त्री पौडेलको हातमा आगोले पोलेको छ भने अनुहारमा समेत केही जलन भएको अनुमान छ। उनले लगाएको कोटमा समेत आगोको झिल्का देखिएपछि सुरक्षाकर्मीहरुले तत्कालै कोट फुकालेका थिए। अन्यत्र भने आगो सल्किन पाएन।
घटनापछि मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
पोखरा महानगरपालिकाले शनिबार २०२५ वर्षलाई पोखरा भ्रमण वर्षका घोषणा गर्न मन्त्री पौडेल पोखरा आएका थिए। कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत उपस्थित थिए। अन्य अतिथिहरु भने सुरक्षित रहेको पोखरा प्रहरीले बताएको छ।



