बागलुङ। ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ।
कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरे पनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ। यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ।
निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन्। गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा सुत्केरी भएका २१३ मध्ये ५८ जना २० वर्षभन्दामुनि सुत्केरी भएका हुन्।
त्यसैगरी चालु आवमा १८ जना २० वर्षमुनिका सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ।
अझै पनि चेतनाको अभावमा दुर्गम गाउँमा बालविवाह व्याप्त रहेको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताए।
यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा ५० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका छन्।



