जनकपुर। जनकपुरको एक अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरेको बिरामीको २३ दिनसम्म होस नआएको घटनापछि अस्पतालको कर्तुत खुलेको छ।
जनकपुरको पिडारी चोकमा संचालित मुस्कान अस्पताल दर्ता बिना नै संचालनमा रहेको पाइएको हो। सो अस्पतालमा पत्थरीको शल्यक्रिया गर्न आएका एक जना बिरामीको २३ दिनसम्म होस नआएपछि अनुगमन गर्दा अस्पताल नै अवैध रुपमा चलिरहेको खुलेको हो।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री आफैं सो घटनाको फेहरिस्त सुनेपछि अनुगमन गर्न टोलिसहित अस्पताल पुगेका थिए। सो क्रममा अस्पताल दर्ता बिनानै चलेको खुलेको हो। मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोली शनिबार बिहान अस्पतालको अनुगमनमा पुगेका थिए।
त्यसपछि अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका थिए। उनको निर्देशनपछि अस्पताल संचालकले बिरामीहरु अन्यत्र सारेर अस्पतालमा ताला लगाइएर साँचो सरकारलाई बुझाएका हुन।
गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गराएकी सर्लाहीको हरिपुर्वा नगरपालिका-५ की २५ वर्षीया बबिता कुमारी यादवको होस आएको छैन।
२० अस्पताल अनुगमन, १९ अवैध
जनकपुरमा संचालनमा रहेका अधिकांश अस्पताल अवैध रुपमा संचालनमा रहेको पाइएको छ। मुस्कान सहित २० वटा निजी अस्पतालको अनुगमन गर्दा १९ वटा अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ।
मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर, बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, साइन मल्टिस्पेसियालिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल प्रालि, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र माँ गायत्री मेमोरियल हस्पिटल प्रालि कतै पनि दर्ता नभई सञ्चालनमा रहेको जनाएको छ।
यस्तै, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वितिका हेल्थ केयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि, ओम दीर्घायु हस्पिटल प्रालि, अरमान हस्पिटल, नैनाँ हस्पिटल र मिहिला इन्टरनेसनल हस्पिटललगायतका निजी अस्पतालहरूको अनुगमन गरिएको थियो। जसमध्ये म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको मात्र कागजात दुरुस्त रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
मुख्यमन्त्री सिंहले अधिकांश अस्पतालहरू दर्ता नगरी सञ्चालनमा रहेको र केही अस्पतालले २ देखि ४ वर्षसम्म नवीकरण नगरेको भेटिएको जानकारी दिए। ती अस्पतालले कानुनी मापदण्ड पूरा नगरेको र जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको भन्दै मुख्यमन्त्री सिंहले २४ घण्टाभित्र अस्पतालमा रहेका बिरामीलाई अन्यत्र सारेर अस्पतालको साँचो सरकारलाई बुझाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले अस्पतालहरूको अनुगमनलाई कडाइका साथ अघि बढाउने प्रतिबद्धता जनाए। जनताको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्ने अस्पताल विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए। अनुगमन टोलीमा मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राजीव मिश्रा, डा. सन्तोष ठाकुर सहभागी थिए।



