काठमाडौं। वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण भएको घटनामा संलग्न ब्यक्तिलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
वीर अस्पतालको अप्रेशन कक्षमा सेवामा खटिएका चिकित्सक डा.घनश्याम थापा, डा.शरद पोखरेल लगायत अन्य स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले आक्रमणमा संलग्न ब्यक्ति उपर कारवाहीको माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) २०७९’ बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायसँग जोडदार माग गर्दछौँ।’ संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



