काठमाडौं। पाठेघरको मुखको क्यान्सर बिरुद्ध लगाउन सुरु गरिएको एचपीभी खोप दुई दिनमा ४ लाख ६१ हजार ८९७ जनाले लगाएका छन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेका अनुसार दुई दिनमा लक्षित वर्ग मध्ये करिब २६ प्रतिशतलाई खोप प्रदान गरिएको हो। बिहीबार संसदमा मन्त्री पौडेलले सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा राख्ने क्रममा सो तथ्यांक राखेका हुन।
माघ २२ र २३ गतेको विवरण अनुसार लुम्बिनी प्रदेशमा सबभन्दा बढी १ लाख ७ हजार ३७ किशोरीलाई खोप प्रदान गरिएको छ। त्यस्तै कोशीमा ६७ हजार ५५४, मधेशमा ३३ हजार ५६५, वागमती १ लाख २ हजार ५२२ र गण्डकी प्रदेशमा ३७ हजार ७३० जनाले खोप लगाइसकेका छन।
यसैगरी कर्णाली प्रदेशमा ३४ हजार १४४ तथा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ३४५ जनाले एचपीभी खोप लगाएका छन्।
मन्त्री पौडेलका अनुसार कोशी प्रदेशमा मा २ लाख ५८ हजार ८९० जनालाई खोप दिने लक्ष्य राखिएको छ । मधेशमा ४ लाख ८ हजार ५३६ तथा वागमतीमा २ लाख ७८ हजार २६४ लाई दिने लक्ष्य लिइएको छ।
त्यस्तै गण्डकीमा १ लाख १७ हजार ५०९, लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३०२, कर्णालीमा १ लाख २७ हजार ६६३, र सुदूरपश्चिममा १ लाख ९६ हजार ६०४ लाई खोप दिने लक्ष्य राखिएको छ।
सरकारले मंगलबारबाट देशभर १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन अभियान सुरु गरेको हो।
६ देखि १० कक्षासम्मका छात्रा वा १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई यो खोपको लक्षित वर्गमा राखिएको छ। यो समुहमा पर्नेहरुले आफ्नो विद्यालय वा तोकिएको खोप केन्द्रबाट खोप लगाउन पाउने छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुर्वनिर्धारित कार्यतालिका अनुसार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर खोप अभियान जारी रहने छ।



