चितवन। निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हानेको गोली लागेर चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती `मकुना´ को मृत्यु भएको छ।
मकुनालाई तर्साउन हानिएको गोली लागेर मृत्यु भएको हो। बुधबार मकुनालाई जंगलतर्फ धपाउन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रयास गर्दैगर्दा जाइलागेपछि तर्साउनका लागि गोली हानिएको थियो।
हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना फेला परेको थियो। सो क्रममा मकुनाले घरपालुवा हात्ती (चुरेगर) लाई आक्रमण गर्न थालेपछि हवाइ फायर गरिएको निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।
सो क्रममा सुरक्षाकर्मी माथिनै जाइलाग्न थालेपछि अन्य विकल्प नभएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि दुई राउण्ड हवाइ फायर गरिएको निकुञ्ज प्रसासनले जनाएको छ।
हवाई फायर गर्दा पनि उल्टै मकुनाले पालुवा हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न कठिनाइ अवस्था भएपछि मकुनालाई गोली हानिएको बताइएको छ। त्यसपछि मकुना अन्यत्र भागेपछि पछि खोज्दै जाँदा ढलेको अवस्थामा फेला परेको थियो। त्यसबखत हात्ती मृत अवस्थामा रहेको बताइएको छ।
तत्पश्चात् घटनास्थलमा उक्त मृत हात्तीको पोस्टमार्टम गरी हेर्दा दाहिनेपट्टी घाँटीमा १ वटा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको थियो।



