काठमाडौं। सरकारले हिजो मंगलबारबाट देशभर १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन अभियान नै सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुर्वनिर्धारित कार्यतालिका अनुसार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गरिएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार महिनावारी हुँदासमेत सो खोप लगाउन सकिन्छ।
महिनावारी भएको बेलामासमेत एचपीभी खोप लगाउन मिल्ने र यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
`महिनावारी भएको बेलामासमेत एचपीभी खोप लगाउन मिल्छ, यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने अध्ययनबाट पुष्टि भैसकेको छ, विश्व स्वास्थ्य संगठनले यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको पुष्टि गरेको छ,´ गौतमले भने।
देशभर १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिका/किशोरीलाई खोप अभियान अन्तर्गत खोप दिइने छ।
सरकारले खोपको ‘डेमोस्ट्रेसन’का रूपमा गएको भदौमा १४ वर्ष पूरा भई १५ ननाघेका १० हजार बालिका/किशोरीलाई यो खोप लगाइसकेको छ।
पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ देखि १८ प्रजातीका भाइरस प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ। नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ।
हाल दिन लागिएको सिकोलिन खोप यी दुई प्रजाति (१६ र १८) प्रजातीका भाइरस विरुद्ध तयार गरिएको हो। एक डोज मात्र दिइने यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुष्टि गरेको छ।
यसपटक विद्यालयलाई मुख्य केन्द्र बनाएर खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए। तर विद्यालय नगएका सो उमेर समुहका बालिका/किशोरीहरु पनि यो अभियानमा समेटिनेछन।
६ देखि १० कक्षासम्मका छात्रा वा १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई यो खोपको लक्षित वर्गमा राखिएको छ। यो समुहमा पर्नेहरुले आफ्नो विद्यालय वा तोकिएको खोप केन्द्रबाट खोप लगाउन पाउने छन।
एचपीभी खोप लगाएपछि केही सामान्य असर देखिन सक्ने खोप शाखाले जनाएको छ। सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, हल्का ज्वरो, वाकवाकी, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्ने डा. गौतमले जानकारी दिए। यस्ता लक्षण केही समयपछि आफैँ ठिक हुने उनी बताउँछन।



