मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा पेट्रोल भन्दा डिजेलबाट चल्ने सवारी प्रदुषण फेल

काठमाडौंमा पेट्रोल भन्दा डिजेलबाट चल्ने सवारी प्रदुषण फेल

images
२०८१ माघ २२ गते, मंगलवार
२०८१ माघ २२ गते, मंगलवार
  • काठमाडौँ। काठमाडौंका सडकमा गुड्ने सवारी साधनहरुको प्रदुषण चेकजाँचले पेट्रोलबाट चल्ने सवारी साधन भन्दा डिजेलबाट चल्ने सवारी साधन धेरै फेल हुने देखाएको छ।

    images

    सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको हो। काठमाडौं महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण चेकजाँचका क्रममा ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत भेटिएको महानगरपालिकाले सोमबार जानकारी दिएको हो।

    images

    चेकजाँच गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन्। यस्तै डिजेलबाट चल्ने ४५१ वटा चेकजाँच गर्दा ३२२ वटा फेल भएका हुन्। यसरी हेर्दा काठमाडौंमा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारी साधनहरू मापदण्ड विपरीत छन्।

    सवारी साधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ। यस क्रममा फेल भएका सवारी साधनहरूलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ।

    प्रदूषण नियन्त्रणका लागि पुस २९ गतेदेखि चेतनात्मक कार्यक्रम थालिएको र यो नियमित चलिरहेको महानगरले जनाएको छ। यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरूलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ।

    अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ।

    यसरी फेल हुने सवारी साधनहरूमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन्।

    परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ।

    सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend