पोखरा। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेको विद्यमान राजनीतिक ब्यवस्था उत्तम रहेको बताएका छन।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली उत्तम राजनीतिक ब्यवस्था भएको बताएका हुन।
`हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी राजनीतिक ब्यवस्था छ। यो उत्तम व्यवस्था हो,’ देउवाले भने।
देउवाले समानुपातिक र समावेशी ब्यवस्थाका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि कांग्रेस एकढिक्का भए आगामी दिनमा बहुमत ल्याउने बताए।
`यो ब्यवस्थामा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ, हामीले तैपनि सबैभन्दा ठुलो पार्टी बनाउन सफल भएका छौँ। अझ पार्टीका सबै साथीहरूबिच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौं,´ देउवाले भने।
सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए।
प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहनेछन्।



