काठमाडौं। सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी २२ माघदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गर्न लागेको छ।
देशभर १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिका/किशोरीलाई खोप अभियान अन्तर्गत खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
सरकारले खोपको ‘डेमोस्ट्रेसन’का रूपमा गएको भदौमा १४ वर्ष पूरा भई १५ ननाघेका १० हजार बालिका/किशोरीलाई यो खोप लगाइसकेको छ।
पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ। नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ।
हाल दिन लागिएको सिकोलिन खोप यी दुई प्रजाति (१६ र १८)विरुद्ध तयार गरिएको हो। एक डोज मात्र दिइने यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुष्टि गरेको छ।
यसपटक विद्यालयलाई मुख्य केन्द्र बनाएर खोप दिन लागिएको खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए। तर विद्यालय नगएका सो उमेर समुहका बालिका/किशोरीहरु पनि यो अभियानमा समेटिनेछन।
यस्तै स्वास्थ्य संस्थाबाट पनि खोप दिइनेछ। ६ देखि १० कक्षासम्मका छात्रा वा १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई यो खोपको लक्षित वर्गमा राखिएको छ। यो समुहमा पर्नेहरुले आफ्नो विद्यालय वा तोकिएको खोप केन्द्रबाट खोप लगाउन पाउने छन।
महानगर र उपमहानगरपालिका क्षेत्रका निम्ति १० दिन र अरू पालिकामा जनसंख्या हेरेर खोप कार्यक्रम सञ्चालन गरिने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए।
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सर गराउने भाइरस (एचपीभी) छालामा कतै न कतै रहेको हुन्छ। स्वस्थ शरीरले यसलाई दबाएर राखेको भए पनि भाइरस व्याप्त रहन्छ।
किशोरावस्थाको प्रारम्भिकस्तरमा शारीरिक सम्पर्कअगावै खोप दिइँदा भाइरसबाट सुरक्षित हुन सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ। सोही कारण १४ वर्षसम्मका बालिकालाई खोप दिन लागिएको डा. घिमिरेले बताइन् ।
डब्ल्यूएचओका अनुसार, एचपीभीविरुद्धको खोप हाल विश्वका १४४ देशमा नियमित रूपमा दिइँदै छ। नेपालमा दिइनेजस्तै एक डोजवाला खोप ६१ देशले दिइरहेका छन्। ७७ देशमा विद्यालयबाट नै दिइएको खोप कार्यक्रम प्रभावकारी भइरहेको डब्ल्यूएचओको रिपोर्ट छ।
०.५ एमएलका दरले दिइने यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेकाले अभियानमा अनिवार्य रूपमा सहभागी हुन उक्त शाखाले आग्रह गरेको छ।
एचपीभी खोप लगाएपछि केही सामान्य असर देखिन सक्ने खोप शाखाले जनाएको छ। सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, हल्का ज्वरो, वाकवाकी, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्ने डा. गौतमले जानकारी दिए। यस्ता लक्षण केही समयपछि आफैँ ठिक हुने उनी बताउँछन।
रजस्वलाको समयमा पनि खोप लगाउन मिल्ने र यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने डा. गौतमले जानकारी दिए। खोप लगाउने किशोरी विद्यार्थी भए परिचयपत्र र नभए उमेर खुल्ने प्रमाणपत्र लैजान आग्रह गरिएको छ ।



