जुम्ला। चिकित्सा शिक्षा अध्ययन गर्न काठमाडौंसहितका सुविधा सम्पन्न जिल्लाबाट जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी आउने क्रम बढेको छ।
पछिल्ला वर्षहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षाको अध्ययन गर्न रोज्ने विद्यार्थीको संख्या बढ्न थालेको हो।
एमबिबीएस पढ्न प्रतिष्ठानमा आएकी काठमाडौकी प्रतीक्षा ज्ञावालीले प्रतिष्ठानको पठनपाठनको गुणस्तर र व्यवस्थापन अब्बल लागेर आफू अध्ययनका लागि आएको बताइन।
उनले काठमाडौंमा अध्ययन गर्न सहज भए पनि दक्ष चिकित्सक बन्न ग्रामीण स्वास्थ्य सेवा बारे जानकार हुनै पर्ने हुँदा आफुले कर्णालीलाई पठनपाठनको थलो बनाएको बताइन।
चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन्।
कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ। सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ।
विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लोकुटिरो बोकेर काठमाडौं पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर र अहिले काठमाडौंबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेको बताए।
प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन्। जसमा एमबिबीएसतर्फ ४३ जना, बिपिएचमा १५, बी फारतर्फ १४ जना, बीएचसी नर्सिङ १७, बीएनएसतर्फ १५ गरी कूल १०४ विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए।



