काठमाडौं। पुर्व गृहमन्त्री एवम रास्वपाका अध्यक्ष रवी लामिछानेलाई रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा छाड्न आदेश दिएको छ।
आइतबालको अन्तिम थुनछेक बहसपछि लामिछानेलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड रकम धरौटी राखेर छाड्न आदेश दिएको हो। लामिछाने आइतबार साँझ नै रुपन्देही जिल्ला अदालतले मागेको धरौटी बुझाएर छुटेका छन्।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. १ करोड नगद धरौट, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू।’
रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो।
लामिछाने विरुद्ध चितवन र बिरगंजमा पनि मुद्दा छ।आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गत बुधबार भैरहवा जिल्ला अदालतमा आफैं उपस्थित भएका थिए।
यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्। रुपन्देहीको समेत जोड्दा २ करोड २५ लाख रुपैयाँ पुगेको छ।



