मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवजात शिशुको जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य : निर्देशिका स्वीकृत

नवजात शिशुको जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य : निर्देशिका स्वीकृत

images
२०८१ माघ १३ गते, आइतवार
२०८१ माघ १३ गते, आइतवार
  • काठमाडौं। सरकारले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने भएको छ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका हुन्।

    समयमै उपचार पाएमा बालबालिकामा देखिने गरेको नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेका हुन्।
     
    ‘बालबालिकाको जन्मजात सुन्न नसक्ने अपांगता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौं,’ मन्त्री पौडेलले भने।
     
    निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।
     
    ‘स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक, कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ,’ उनले भने।
     
    निर्देशिकामा जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँगसमेत जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ।
     
    निर्देशिकाअनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएइ उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ। परीक्षण उपकरण विशिष्टिकृत अस्पतालहरुमा विस्तार गर्ने मन्त्रालयले तयारी पनि अघि बढाएको।
     
    नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ।
     
    २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो।
     
    तर, बालबालिकामा हुने ६० प्रतिशत बहिरोपना रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन्।

    यस आधारमा धेरै भन्दा धेरै बालबालिकाको समयमै उपचारका लागि पहिचान गर्न देशभर नवजातको जाँचलाई गुणस्तरीय बनाइ एकरुपता कायम गर्न आवश्यक भएकाले यो निर्देशिका निर्माण भएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए।
     
    यसअघि केही अस्पतालमा यस्तो परीक्षण भए पनि प्रजनन सेवा भएका सबै स्थानमा सामान्यस्तरको परीक्षणसमेत हुने गरेको थिएन। एक वर्षभित्रै उपचार गर्न सकिए बालबालिकालाई सुन्ने बनाउन सकिने विज्ञहरुको राय छ । 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend