बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भोटेकोशी बाढी पीडितका लागि युएसभी फार्माद्वारा १ करोड ५० लाख सहयोग

भोटेकोशी बाढी पीडितका लागि युएसभी फार्माद्वारा १ करोड ५० लाख सहयोग

images
२०८३ भाद्र २५ गते, बिहिवार
२०८३ भाद्र २५ गते, बिहिवार
  • काठमाडौँ। युएसभी फर्मास्युटिकल्सले भोटेकोशी बाढी पीडितका लागि नेपाल चिकित्सक संघको राहत अभियानमार्फत जाने गरि रु. १ करोड ५० लाख सहयोग उपलब्ध गराएको छ।

    images

    बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम बिहीबार एक कार्यक्रममार्फत नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालित राहत अभियानमा प्रदान गरिएको हो।

    images

    युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन्।

    रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन्। कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ।

    यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउन सहयोग पुर्याउनु राहत अभियानको प्रमुख उद्देश्य रहेको छ।

    नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइने संघका अध्यक्ष डा. बद्री रिजालले जानकारी दिए।

    अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ। त्यसैगरी विद्युत् सुविधा प्रभावित भएका क्षेत्रमा सौर्य बत्ती तथा मोबाइल फोन चार्ज गर्न आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ।

    यसैगरी स्वच्छ खानेपानी तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री र औषधिलगायत स्वास्थ्य तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइनेछ।

    युएसभी फर्मास्युटिकल्सले स्वास्थ्य क्षेत्रमा कार्यरत जिम्मेवार संस्थाका रूपमा मानिसको स्वास्थ्य र जीवनस्तर सुधारमा योगदान पुर्याउनु आफ्नो प्रमुख दायित्व वहन गर्दै उक्त सहयोग गरेको जनाएको छ।

    स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यसँगै प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिनु पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ।

    `विपद्को घडीमा हाम्रो जिम्मेवारी स्वास्थ्य सेवा प्रवाहमा मात्र सीमित रहँदैन। प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरुलाई कठिन परिस्थितिबाट बाहिर निस्कन तथा पुनर्लाभ र पुनर्निर्माणतर्फ अघि बढ्न सहयोग पु¥याउनु पनि हाम्रो दायित्व हो।´ कम्पनीले भनेको छ।

    कम्पनीले बाढीका कारण आफ्नो घर तथा आधारभूत आवश्यकता गुमाएका परिवारलाई राहत उपलब्ध गराउन नेपाल चिकित्सक संघले सञ्चालन गरेको अभियान प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा सञ्चालन हुने अभियानले वास्तविक रूपमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोगलाई सही ठाउँमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

    युएसभी फार्माले प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई सहयोग गर्न सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा नागरिक समाजबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

    कम्मनीले विपद्को प्रभाव ठूलो हुने अवस्थामा कुनै एक संस्था वा निकायको प्रयास मात्र पर्याप्त नहुने भएकाले सामूहिक प्रयासबाट प्रभावित समुदायलाई थप प्रभावकारी सहयोग पुर्याउन सकिने जनाएको छ।

    युएसभी फार्माका अनुसार बाढीपीडितका लागि उपलब्ध गराइएको यो सहयोग कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल हो।

    स्वास्थ्य तथा औषधि क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै आएको कम्पनीले संकटका समयमा समुदायको आवश्यकताअनुसार सहयोग गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त सहयोगले तत्काल राहतको आवश्यकता रहेका परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्किन र दीर्घकालीन पुनर्लाभ तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढ्न केही हदसम्म सहयोग पुग्ने छ।

    युएसभी फर्मास्युटिकल्सले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूको साथमा रहेको जनाएको छ। प्रभावित समुदायको पुनर्लाभ र पुनर्निर्माणका लागि सम्बन्धित निकाय तथा संस्थाहरूले गरिरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि फर्मास्युटिकल्सले व्यक्त गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend