काठमाडौँ। गत बुधबार रसुवा हुँदै चिनतर्फबाट भोटेकोसी नदीमा आएको विध्वंसात्मक बाढीले कति जनाको मृत्युु भयो वा कति बेपत्ता भए भन्ने अझै यकिन छैन।
बाढीमा परेर शनिबार बिहान १० बजेसम्म ६२६ जनाको मृत्युु भएको छ। अन्य शव संकलन पनि धमाधम छ भने बेपत्ताहरुको खोजी र उद्धार पनि जारी छ। बाढीले बगाएर ल्याएका शव यत्रतत्र हुँदा नजिकका बस्तिमा संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरुले औंल्याएका छन्।
चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्। अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैमा आग्रह गरेका हुन्।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उनले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिएका हुन्।
“बाढीले बगाएका मानिस र जनावरका शवहरु समय बित्दै जाँदा कुहिने सम्भावना अत्यधिक रहन्छ। यसले सङ्क्रमणको जोखिम बढ्न सक्छ। दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन्। ब्याक्टेरिया वा भाइरसबाट विभिन्न सङ्क्रमण हुनसक्छ।” डा पुनले भने।
बाढीबाट बाँचेका तथा विस्थापित भएका नागरिकमा आगामी दिनमा झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसतर्फ समयमै सबै सचेत बन्नुपर्ने उनको भनाइ छ
बाढीको पानी र त्यसपछि जम्मा भएको फोहर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढी हुने डा पुनले जानकारी दिएका हुन्। बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले सुझाए।
“विस्थापित अवस्थामा खानपान व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ। सुरक्षित पानी र खाना नपाउँदा झाडापखाला तथा टाइफाइडको जोखिम बढ्न सक्छ। पानी जम्ने ठाउँ बढेसँगै लामखुट्टे पनि बढ्न सक्छन् र सङ्क्रमणको जोखिम थपिन सक्छ”, उनले भने, “बाढीबाट प्रभावित मानिसले घर, सम्पत्ति र आफन्त गुमाएको अवस्थामा उहाँहरूलाई स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन आग्रह गर्नु व्यवहारिक रूपमा कठिन हुने भए पनि उपलब्ध स्रोतबाट सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नु अत्यावश्यक छ।”



